हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड अन्ततः सञ्चालनमा आएको छ। यो सडकखण्ड भुलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो।
सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो। तर, सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडक खुला भएको छ।
मेसिन र जनशक्ति परिचालन गरी भुलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटाइएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए।
उनका अनुसार यो सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा ठुलो सहजता भएको छ।
प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भूलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाउन महत्त्वपूर्ण योगदान गरेका थिए।
सडक सुचारु भएपछि पर्यटक र स्थानीयलाई ठुलो राहत मिलेको प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले बताए। उनले भने, ‘हाम्रो टोलीले रातदिन नभनी काम गरेको छ।’
सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए। सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ।
जुम्ला र मुगुका प्रहरी ,प्रशासन,सडकडिभिजन कायालयको पहलमा बन्दा सडकमा २ फुट भन्दा बढी आएको हिउँ पन्छाएर सडक सञ्चालनमा आएको मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए।