काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला आयोजना गर्‍यो। मेलामा विद्यार्थीहरूले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नवीनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए। बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गरे। 
शारदा माध्यमिक विद्यालयका कक्षा नौ (९) मा अध्ययनरत विद्यार्थी समीर भट्ट पनि आफ्नो कला देखाउन पाउँदा दङ्ग भए। सैद्धान्तिक ज्ञान मात्र लिएका उनले शैक्षिक मेलामा प्रयोगात्मक रूपमा देखाउन पाउँदा खुसी लागेको बताए। 
उनले भने,‘मेला एकदमै रमाइलो लाग्यो। सबैलाई आर्ट एण्ड क्रिएचर बारेमा बताउँदा रमाइलो लाग्यो। नाच र गीत हेर्न पाइयो। सबै स्टलमा पुगेर सोध्ने–बुझ्ने गर्दा धेरै कुरा सिक्न पाइएको छ। मैले पनि भित्ते चित्र अर्थात् म्यूरल आर्टका बारेमा बुझाउने मौका पाएँ। मैले स्टलमा आउने मानिसहरूलाई आर्टको बारेमा जानकारी दिने काम पनि गरे।’
यस्तै, रत्न राज्य माध्यमिक विद्यालयकी विद्यार्थी विनिस्का कोइरालाले पनि प्रदर्शनीमा सहभागी हुन पाउँदाको अनुभव सुनाइन्।
उनले अवलोकनकर्ताहरूले थप प्रोत्साहन गरेको भन्दै खुसी भइन्। उनले आफूले जानेको कलालाई देखाउन र मानिसहरूसँग अन्तरक्रिया गर्न पाएकोलाई ठुलो उपलब्धिका रूपमा लिएको पनि बताइन्। 
उनी भन्छिन्,‘हामीले शैक्षिक मेलामा कार्पेटिङ तथा उठकार्भेटको स्टल राख्यौं। आफूले जानेको कुरा देखाउन पाउँदा एकदमै खुसी लागेको छ। स्टलमा राखेको कुरामा मानिसहरूले जिज्ञासा राख्दा राम्रो लाग्छ। आफूले जानेको कुराहरू अवलोकन गर्न आउने मानिसहरूले पनि राम्ररी सुनिदिनुभएको छ। हामीले मानिसहरूसँग अन्तरक्रिया गर्न पायौँ। यस्तो अवसर सबैले पाउँदैनन्। आफूले जानेको कुरा अरूलाई भन्न पाउनु पनि ठुलै उपलब्धि हो।’
महानगरपालिकाले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरेको थियो।
प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नवीनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए। बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शित भएका थिए। 
यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति देखाइएको थियो। मेलामा विद्यार्थी नमुना संसद् अभ्यास मेलाको प्रमुख आकर्षण बन्यो।