झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन्।

झापाको बिर्तामोड नगरपालिका-५ स्थित अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-४ का २० वर्षीय कर्म मगरलाई शनिबार पक्राउ गरेको हो। उनको साथबाट १ ग्राम २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, लागुऔषध सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा मोरङको प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले ४ जनालाई पक्राउ गरेको छ।​ 

पक्राउ पर्नेमा कानेपोखरी- ६ का ५५ वर्षीय चन्द्र लिम्बू र उनकी श्रीमती ४५ वर्षीया राजकुमारी लिम्बू, २९ वर्षीय सागर महत र २३ वर्षीय अनिल तामाङ छन्।

उनीहरूको साथबाट ट्रमाडोल- ४ हजार ४३ चक्की, स्पासपेन-१ हजार ६ सय ३७ चक्की, स्पास्मो- १ सय ८२ चक्की बरामद भएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।