मोरङको उर्लाबारीमा १ जना पुरुष मृत भेटिएका छन्।
प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–९ का ४९ वर्षीय नरेन्द्र लावती लिम्बू मृत फेला परेका हुन्। उनलाई छिमेकी डिगबहादुर खड्काको घरमा मृत भेटिएको प्रहरीले जनाएको छ।
लिम्बू र खड्काको घरको दुरी करिब १ सय ५० मिटर उत्तर–दक्षिणमा पर्छ। उनी खड्काको घरको प्यासेजमा मृत फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाएको छ।
लिम्बूको मृत्युको कारण खुल्न बाँकी छ। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। पोस्टमार्टम रिपोर्टपश्चात घटनाको थप अनुसन्धान गरेपछि मृत्युको कारण यकिन हुने प्रहरीको भनाइ छ।