ललितपुर महानगरका प्रविधिमैत्री बन्दै स्मार्ट सिटी निर्माणको कामलाई गति दिएको छ। महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर नयाँ कामको थालनी गरिसकेको छ।
महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरी तीन निकायको समन्वयमा लाइट जडान भएपनि नयाँ प्रविधिमा अभ्यस्त नहुँदा केही समस्या आइरहेको महानगरपालिकाका सहरी विकास प्रमुख श्रीकुमार महर्जनको भनाइ छ।
बत्तीले गाडीहरूको चापलाई रिड गरेर भोलिको लागि तालिका बनाउने हुँदा भिआइपीको सवारी हुँदा पनि लाइट बन्द नगर्ने पनि उनले बताए।
उनले भने, ‘इन्टेलिजेन्ट ट्राफिक लाइटको सिस्टम नेपालमा अहिलेसम्म नभएको प्रविधि हो। यो आफैँ रिड गरेर चल्छ, कुपण्डोलबाट ललितपुरभित्र आएपछि लगभग ६ स्थानमा जडान भएको छ। इन्टेलिजेन्ट ट्राफिक लाइटले सुरुमा गारो भएको थियो। महानगरपालिका, सडक विभाग र ट्राफिक प्रहरीबिच समन्वयमा हुनुपर्ने हो। हामीले जडान त गर्यौ तर बानी नपरेको हुनाले अलि समस्याहरू आएको थियो।’
यसको साथै महानगरलाई स्मार्ट सिटी बनाउनको लागि थुप्रै कामहरू भइरहेको पनि उनले जानकारी दिए। पुल र बत्तीको काम पहिलो प्राथमिकतामा राखिएको र कुसुन्ति साथै धोबी घाटमा पुल निर्माण भइरहेको उनले बताए।
यस्तै, महर्जनका अनुसार अहिले पार्किङको धेरै समस्या भएको कारण यसमा पनि काम भइरहेको छ र सांस्कृतिक क्षेत्रहरूमा सवारी साधनहरूलाई कसरी कम गर्ने अथवा चलाउन नै नदिने भन्ने कुरामा पनि अभ्यासहरू भइरहेको छ।
उनले भने, ‘स्मार्ट सिटीको काम धेरै भइरहेको छ तर काम बाँकी छ। सबैभन्दा ठुलो कुरा भनेको हामीले दिने सेवामा हो, संरचनाहरूको काम त भइरहेको छ। पाटन अस्पताल अगाडि पनि पुल बनाउन खोजी रहेका छौ। विशेष गरी पार्किङलाई व्यवस्थित गर्ने प्रयासमा छौँ। हाम्रो सांस्कृतिक क्षेत्रहरूमा सवारी साधनलाई कसरी कम गर्ने अथवा चलाउन नै नदिने भन्ने कुरामा पनि अभ्यासहरू भइरहेको छ।’
उनले सात दोबाटो–चाँपागाउँ र एकान्त कुना क्षेत्रमा फ्लाई ओभरको कामलाई सरकारले गर्न सके राम्रो हुने बताए।
यसको साथै, इन्टेलिजेन्ट ट्राफिक लाइट पनि एकान्त कुना हुँदै भैसीपाटी र त्यहाँभन्दा माथि चुनिखेलसम्म, दोस्रो रुट जवालाखेलबाट सात दोबाटो हुँदै गोदावरी जाने बाटोमा र पुलचोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गरी तीन ठाउँमा जडान गर्ने प्रोजेक्ट अघि बढ्ने उनले बताए।
महानगरपालिकाले संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले विभिन्न योजनाहरू पनि अघि सारेको उनले बताए। पुरानो शैलीको घरलाई भूकम्परहित घर कसरी बनाउन सकिन्छ भन्ने कुरामा अध्ययन भइरहेको र यसको वैज्ञानिक रिपोर्ट पनि केही महिनामा नै आउने उनले बताए । हुँदा कार्यविधि अथवा नियम बनाएर नै पुरानो शैलीको घरको नक्सा पास गर्ने प्रक्रियामा रहेको पनि महर्जनको भनाई छ।
उनले भने, ‘हाम्रा पुराना शैलीका घरहरू बनाउने योजनामा केही समस्या आएको छ। यसमा हामी ब्याक नै भएको अवस्था छ। त्यही भएर पनि पुरानो घरप्रतिको इच्छा घट्दै गइरहेको छ। तर कसैले माटोको नै बनाउँछौँ भन्ला, कसैले इट्टाको नै बनाउँछु भन्यो भने त्यस कुरामा अध्ययन गरिरहेको छौँ। तिनीहरूलाई कसरी एड्रेस गरेर भूकम्परहित घर बनाउन सकिन्छ भन्ने कुरामा अध्ययन गरिरहेको छौँ। त्यसको वैज्ञानिक रिपोर्ट एक दुई महिनामा नै आउँछ। कार्यविधि अथवा नियम नै बनाएर नै नक्सा पास गर्ने प्रक्रियामा छौँ।’
उनका अनुसार पुरानो घर बनाउँदा पैसा सकिने भन्दा पनि जोखिम हुन्छ। सम्पदा क्षेत्रमा पाटी पौवा, मठ मन्दिरहरू बनाउन दक्ष जनशक्ति समस्या भएकाले पुराना शैलीका घर बनाउन पनि दक्ष जनशक्तिको अभाव रहेको सुनाए।