सालकको खपेटासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका ४८ वर्षीय कुवेरबहादुर स्याङ्तान, नुवाकोटका ४० वर्षीय सन्तबहादुर गुरुङ, ओखलढुंगाका २८ वर्षीय राजु विश्वकर्मा र सुनसरीका ४२ वर्षीय मदन राई छन्।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, चामुण्डा चोकबाट सालकको खपेटा आठ किलो ५०० ग्रामसहित शनिबार (फागुन १०) उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको हो। आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।