नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारको अवसर सिर्जना गर्न सबै जना एक भएर नलागे सन्नतिहरू पछुताउने वातावरण रहेको बताए।
उनले भने, ‘नेपालमा रोजगारी दिने कुरा, अवसर बनाउने कुरा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोक्न एकमत भएर लागेनौँ भने भोलि हाम्रा सन्नतिहरू पछुताउने वातावरण बाहेक अरू केही हुँदैन।’
उनले पाथीभराको केबुलकार निर्माणको विषयमा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको बताए। उनले केबुलकार निर्माण गर्दा सबै धर्मलाई प्रोत्साहन गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने पनि बताए।
उनले भने,‘विकास निर्माणका हिसाबमा धर्मको नाममा लागेर नकारात्मक प्रचार नगरौँ। पाथीभराको केबुलकार निर्माणको कुरामा धर्मलाई नास गर्छ भन्ने गलत प्रचार भइरहेको छ। केबुलकारले सबै धर्मलाई प्रोत्साहन गर्छ, रोजगारीको अवसर सिर्जना गर्छ।’
उनले पवित्र उद्देश्यले काम गर्दा पनि आफूलाई बदनाम गराउन खोजिएको भन्दै चिन्ता व्यक्त गरे। ‘केही मान्छेहरू आफ्नो लोकप्रियताका लागि मेरो बदनाम गराउन खोजिरहेका छन्। म अत्यन्तै चिन्तित छु। पाथीभराका विषयमा मेरो उद्देश्य पवित्र छ,’ उनले भने।