सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने कामले गति नलिएको बताएका छन्। 
बिहीबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले आइटी क्षेत्रमा नेपाल सबैभन्दा पछाडि परेको भन्दै सरकारले धेरै काम गर्न बाँकी रहेको औँल्याए। 
उनले भने, ‘मैले ६ महिना मन्त्रालयमा काम गर्दा आइटी क्षेत्रमा सरकारले गर्नुपर्ने धेरै काम देखेको छु। यस क्षेत्रमा नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि परेको छ। अहिलेसम्म हामीले केही गरेका रहेनछौँ। अरूले जे गर्नुभयो त्यसैमा सीमित छौँ। एआइको नीति बनाएको छैनौ। बल्ल बल्ल आइटी क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाएका छौँ। नियमावली बनेको छैन। भएका कानुन कार्यान्वयन गर्ने तदकरुपकता देखिँदैन। गर्नुपर्ने काम नगरेको तर थोरै थोरै गरेको भएपनि गति नलिएको देखिन्छ।’
मन्त्री गुरुङले आइटी पार्क, नलेज पार्क र अनुसन्धान केन्द्र खोल्ने कुरामा जोड दिए। उनले भने, ‘आजसम्म एउटा आइटी पार्क छैन। नलेज पार्क छैन। अनुसन्धान केन्द्र छैन। त्यसैले हाम्रो मन्त्रालयले यो वर्ष एउटा आइटी पार्क खोलौँ र त्यसलाई सात वटा प्रदेशहरूमा पनि लैजाऔँ भन्ने छ।’