श्री पञ्चमीको अवसरमा रौतहटका निजी तथा सामुदायिक विद्यालयमा पूजाको तयारी थालिएको छ।
विद्यालय सरसफाइ तथा विभिन्न रङ्गिन तोरण समेत टाँगिएको छ। अहिले विद्यालय वा परिसरमा रहेको मन्दिरलाई सिँगार्ने काम भइरहेको छ।
कतिपय विद्यालयले सरस्वती माताको मूर्तिलाई राखेर पूजाराधना गर्ने गर्छन्। विद्याकी देवी सरस्वतीको मूर्ति राखेर विशेष पुजाअर्चना गर्ने दिन भएकाले कालिगढलाई व्यस्तता बढेको छ।
अहिले मूर्तिलाई अन्तिम रूप दिइसकेको गौर नगरपालिका वडा नं ५ का ओमप्रकाश प्रजापति बताए। उनका अनुसार दाजुभाइ दुई महिनादेखि निरन्तर माटो, पराल, बाँस, डोरी लगायत विभिन्न सामाग्रीको सहयोगले सरस्वती माताको मूर्ति बनाउन कार्यमा लागेको बताए।
धेरै जसो विद्यालयबाट सरस्वती माताको मूर्तिको माग भएको उनले जानकारी दिए। यस वर्ष माघ २१ गते (भोलि) सरस्वती पूजा परेको छ।
यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ। यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।
यहाँ निजी विद्यालयले सरस्वती पूजा निःशुल्क भर्ना तथा शिक्षा आरम्भ भन्दै प्रचार प्रसार गर्दै आएका छन् । यस दिन विद्यालयहरूले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्ने गर्दछन्।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन्।




















