इटहरी। केबलकार खारेजी सङ्घर्षरत समूह, मुक्कुमलुङ संरक्षण संस्थाका साथै विभिन्न राजनीतिक दहरुको आह्वानमा भएको बन्दको प्रभाव कोशी प्रदेशमा देखिएको छ। आइतबार र सोमबार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ।
बन्दले खासगरी यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ। सङ्घर्ष समितिका आन्दोलनकारीहरू सडकमा निस्किएर केबलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्य गर लगायतका नारा लगाइरहेका छन्।
केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याकथुङ चुम्लुङ जिल्ला समिति लगायत सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन्।
जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा आज र भोली बन्दको घोषणा गरिएको हो। त्यसपछि पनि मागको सम्बोधन नभए अनिस्चितकालिन लिम्बुवान आमहड्तालको समेत घोषणा गरिएको छ।
यता कोशी प्रदेश प्रहरी कार्यालयले भने अप्रिय घटना नहोस् भन्ने हेतुका साथ सुरक्षाकर्मी तैनाथ परिएको अवस्था रहेको जनाएको छ । कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरिक्षक भीम बहादुर दाहालले सबै स्थानमा सुरक्षा तैनाथ बढाइएको बताए।
प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु तर्फ यातायात सञ्चालन भए पनि कोशी प्रदेशका पूर्वी जिल्लाहरूमा सवारी सञ्चालनमा अवरोध भइरहेको अवस्था रहेको छ। जहाँ प्रहरीले सहजीकरण गरिरहेको अवस्था छ।
यता केबलकार खारेजी समितिका संयोजक खगेन्द्र फेम्बू केबलकार बनाउँदा स्थानीय संस्कृति सभ्यता र वातावरण विनाश हुने बताउँछन्। ‘नेपालको संविधान अनुसार जसरी त्यहाँ काम भइरहेको छ। यसले उग्र रूप लियो भने राज्य आन्दोलन त हुन्छ नै’ उनले भने। पाथीभरामा केबलकार कुनै हालतमा बन्न दिइँदैन।’
पाथीभरा केबलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको र केबलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने उनले बताए।




















