सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठन भएको दोस्रो सय दिन २०८१ माघ १७ गतेसम्म भएका प्रमुख कामहरूको विवरण सार्वजनिक गरेको छ। 
शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी सचिव राधिका अर्यालले १७ गतेसम्म भएका प्रमुख कामहरूको विवरण सार्वजनिक गरेकी हुन्। 
सोही क्रममा उनले सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको बताइन्। 
उनले भनिन्, ‘सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने भन्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा तहमा हुलाक कार्यालय सञ्चालनमा आएको छ र यसमा पहिला भएको ७७ वटा जिल्ला हुलाक कार्यालयहरू पनि छन् र सात वटा प्रदेशमा सात वटै निर्देशनालयहरू रहेका छन्। बाँकी ७ सय ७६ वटा कार्यालयहरू स्थापना गरेर अहिले ७ सय ५३ वटा तहमा हुलाक कार्यालयहरू छन्। यस कार्यसँगै हुलाकको पुन संरचना गर्ने कार्य पनि सम्पन्न भएको छ।’
यसका साथै, उनले २० वटा सरकारी निकायको सुरक्षा अडिट सम्पन्न भएको पनि जानकारी दिएकी छन्। 
उनले भनिन्, ‘२० वटा सरकारी निकायको सिस्टम सफ्टवेयर, वेबसाइट, वेब एप्लिकेशन र मोबाइल एप्लिकेशनको सुरक्षा अडिट गर्ने भन्ने कुरा थियो त्यो २० वटै कार्यालयको सुरक्षा अडिट सम्पन्न भएको छ। यस आर्थिक वर्षमा ३० वटा सुरक्षा अडिट सम्पन्न भएर अहिलेसम्म ९३ वटा प्रणालीहरूको सुरक्षा अडिट सम्पन्न भइसकेको छ।’
आजसम्मको समयमा ८४ वर्षको डिजिटल रूपान्तरण सम्पन्न लगायत सञ्चार क्षेत्रमा गर्नुपर्ने सम्पूर्ण कार्यहरू सम्पन्न भइसकेको पनि उनको भनाइ छ।