राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन्।
शुक्रबार संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन्।
उनले भनिन्,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले पनि सोही अनुसार निलम्बन गर्ने प्रक्रिया उचित हुँदैन। यसको प्रक्रिया संसद्को नियमावलीमा स्पष्ट राखिएको छ। अदालतले थुना पठाउने निर्णय भएको खण्डमा मात्रै निलम्बन गर्ने नियमावलीमा व्यवस्था छ तर पनि उहाँलाई जो निलम्बन गर्ने निर्णय फिर्ता लिन उहाँले निवेदन दिनु भएको छ।’
सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद् सचिवालयले निलम्बन गरेको थियो।