‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ भारतको राजधानी नयाँ दिल्लीमा गत सोमबार सम्पन्न भएको छ।
लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका दर्जनौँ कलाकारहरूको उपस्थिति रहेको थियो। 
‘ईन्डो नेपाल सुजन म्युजिक अवार्ड २०२४’ का विभिन्न विद्याहरूमा विजेता कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा लोक दोहोरी गायिका एवम् मोडल रिया रेग्मी अवार्ड विजेता बनेकी छन्। रियाले ’रहरै भो’ गीतबाट सर्वोत्कृष्ट नयाँ मोडलको अवार्ड हात पारेकी हुन्।
उनले आफ्ना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै अवार्ड हात पार्न सफल भएकी हुन्। कलाकारिताको क्षेत्रमा प्रवेश गरेको २ वर्षमै रियाले यो अवार्ड लगायत धेरै सफलताहरू हात पार्न सफल भएकी छन्। रियालाई वरिष्ठ गायिका शर्मिला गुरुङ,वरिष्ठ गायक इन्द्र जिसिले वेस्ट म्युजिक भिडियो मोडलको अवार्ड प्रदान गरेका थिए।
अवार्ड वितरणपछि विजेताहरुले अझै यस क्षेत्रमा थप लगनशील हुँदै अगाडी बढने बताए।
सुजन म्युजिक प्रा.ली.की अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरूको अवार्ड कार्यक्रम दोस्रो पटक आयोजना गरिएको बताइन्।
सुजन म्युजिक प्रा.ली.को आयोजनामा नेपाल र भारतमा रहेका सङ्गीतकर्मीहरूको नेपाली गीत सङ्गीतप्रतिको योगदानलाई सम्मान गर्न यस वर्ष पनि अवार्ड कार्यक्रम भएको हो।
अवार्ड कार्यक्रमका लागि मनोनयन फारम खुल्ला गरेर सम्पूर्ण प्रक्रिया पूरा गरी भोटिङ गरेर धेरै भोट प्राप्त गरेका व्यक्तित्वलाई विजयी घोषणा गरिएको थियो। सो अवार्ड कार्यक्रममा विभिन्न ३३ विधामा अवार्ड वितरण गरिएको थियो भने साङ्गीतिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्ति र स्रष्टाहरूलाई पनि सम्मान गरिएको थियो।
यस अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा भएको थियो भने अवार्डको फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा भएको हो।
अवार्डका विधाहरूमा राष्ट्रिय भावको गीत, सर्वोत्कृष्ट लोक दोहोरी गीत, सर्वोत्कृष्ट एकल लोकगीत गायक÷गायिका, सर्वोत्कृष्ट मौलिक गीत गायक/गायिका , सर्वोत्कृष्ट गायक/गायिका ,सर्वोत्कृष्ट मोडल, सर्वोत्कृष्ट नयाँ मोडल, सर्वोत्कृष्ट भाका , सर्वोत्कृष्ट शब्द रचनाकार , सर्वोत्कृष्ट नव गायक/गायिकालगायत रहेका थिए।
माघ १३ गते भारतको नयाँ दिल्लीमा रहेको प्यारेलाल भवनको आईटीओ मा ख्याति प्राप्त कलाकारहरूको बिचमा सांस्कृतिक कार्यक्रम सहित अवार्ड वितरण  सम्पन्न भएको हो।
नेपाली गीत संगीतको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले वि।स। २०७० सालमा स्थापना भएको सुजन म्युजिक प्रा।ली। नेपाली गीत, संगीतको क्षेत्रमा क्रियाशील नेपालको सक्रिय म्युजिक उत्पादक संस्था हो।
नेपाली गीत संगीतको उत्पादन तथा प्रकाशनको गौरवमय यात्रामा थुप्रै गीत सङ्गीत कर्मीसँग सहकार्य गर्दै गीत सङ्गीतका सयौँ रचनाहरू भौतिक तथा डिजिटल प्रविधिमा प्रकाशन गरी नेपाली तथा अन्य भाषा भाषीका गीत संगीतको क्षेत्रमा यस संस्थाले छुट्टै योगदानका साथ पहिचान बनाउन सफल भएको छ।
नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील अग्रज स्रष्टाहरूलाई सम्मान तथा गीत संगीतको क्षेत्रमा नेपाल तथा भारतमा क्रियाशील गीत सङ्गीतकर्मीहरूको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको आयोजक कमिटीकी अध्यक्ष राना मगरले बताइन्।