ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ।

सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार सुरु गरिएको हो। उनको हात खुट्टा र शरीरका विभिन्न भागहरुमा चोट रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेले ओखलढुंगाबाट दुई जना प्रहरीले चालक पण्डितलाई उपचारका लागि भक्तपुर ल्याएको र अहिले उपचार जारी रहेको बताए।

पण्डितले चलाएको ना १ ज ६४२१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीया तारा गुरुङ रहेका छन्।