अङ्ग्रेज विरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुलीगढीको सहायक रामेछापको चिसापानी गढी यति बेला राज्यको संरक्षणको पर्खाइमा छ। 
रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा छ। राज्यकातर्फबाट उचित संरक्षण र प्रवर्धन नहुँदा चिसापानी गढी ओझेलमा परेको छ। 
नेपाललाई उपनिवेश बनाउन आएको इस्ट–इन्डिया कम्पनीका कप्तान किन लोक नेतृत्वको अङ्ग्रेज फौजलाई वि।स।१८२४ मा सिन्धुली गढीको लडाइँमा वीर गोर्खाली सेनाले परास्त गरेका थिए। 
सिन्धुली गढीको सेनालाई ब्याक फोर्स दिन रामेछापको हालको मन्थली नगरपालिका–६ स्थित तिल्के स्थान गढी, चिसापानी गढी र हालको रामेछापकै खाँडादेवी गाउँपालिका–५ को पकरबास गढीमा सेना राखिएको थियो। यदि सिन्धुली गढीबाट त्यहाँको सेनालाई जितेर अङ्ग्रेज सेना अघि बढ्यो भने उनीहरूसँग लडाइँ गर्न तीन वटा गढीमा सेना तैनाथ गरिएको थियो।
नेपाली सेनाको वीरतापूर्वक र चलाखीपूर्ण लडाइँको कारण किनलक नेतृत्वको सेना सिन्धुली गढीबाटै पराजित भएर जनकपुरतिर फर्किएको र बाँकी गढीका सेनाहरूले अंग्रेजविरुद्ध लड्नु नपरेको जानकारहरू बताउँछन्। 
सिन्धुली गढी, तिल्के स्थान गढी र पकरबास गढी जस्तै चिसापानी गढीमा पनि सेनाले लड्नको लागि आड र बङ्कर निर्माण अन्य हतियार सहितका तोप समेत राखेको इतिहासबारेका जानकारहरू बताउँछन्।  
सेनाको टुकडी गढीभन्दा अलिक तल पानी भएको ठाउँमा भतेर खन्थ्यो भने चारैतिर देखिने चिसापानी गढीबाट युद्ध लड्नको लागि तयारी अवस्थामा पहरेदारी गर्ने र त्यही सेनाले भतेर खाने ठाउँको नामलाई पछि ‘भतेरे’भन्न लागिएको स्थानीय बुढापाका बताउँछन्। 
लामो समयसम्म संरक्षण नगरी अलपत्र छाडिएको चिसापानी गढीका धेरै संरचना नष्ट भएको स्थानीयबासी बताउँछन्। कतिपय सामानहरू चोरिए भने कतिपय हराएर नष्ट भएर गएको बताइन्छ। 
देश सङ्घीयतामा गएपछि चिसापानीको भीमसेन स्थान सहित चिसापानी गढीको जीर्णोद्धार, मर्मत र संरक्षणको लागि डोरमणि पौडेल मुख्यमन्त्री र कैलाशप्रसाद ढुङ्गेले आर्थिक मामिला तथा योजना मन्त्री भएको बेला वाग्मती प्रदेश सरकारले केही बजेट पठाएको थियो।
सोही बजेटबाट गढीमा जाने केही सिँढी बने, मन्दिर बनेको थियो। गढी भित्र अन्य केही संरचना पनि बनेको तर डोरमणि नेतृत्वको सरकार ढल्यो, कैलाश डुङ्गले आर्थिक मामिला तथा योजना मन्त्रीबाट हटे। त्यसपछि गढीमा आउने बजेट पनि कटौती भयो र निर्माण कार्य पनि अलपत्र परेको स्थानीयबासी बताउँछन्। 
गढीमा धेरै संरचना निर्माण गर्नुपर्ने भएकाले वडा कार्यालय र नगरपालिकाले काम गर्न आँट गर्न नसकेको र स्थानीय तह प्रदेश वा सङ्घीय सरकारको सहयोगको प्रतीक्षामा रहेको स्थानीयबासी बताउँछन्। 
चिसापानी गढीको पनि सिन्धुली गढीको जस्तै महत्त्व भएकोले यसको संरक्षण आवश्यक रहेकोको स्थानीय पत्रकार कैलाश खत्री बताउँछन्।
ऐतिहासिक गढीको संरक्षणको लागि कार्य योजना नै बनाएर काम गर्नुपर्ने उनको धारणा छ। ‘यसको लागि मन्थली नगरपालिकाले वृहत् कार्य योजना बनाएर प्रदेश र केन्द्र सरकारबाट सहयोग लिने गरी काम गर्नुपर्छ’, खत्रीले भने।