बेलबारी वडा नं.३ मा टोल कप फुटबल प्रतियोगिता हुने भएको छ। 
बेलबारी वडा नं.३ को आयोजना तथा बेलबारी फुटबल क्लबको प्राविधिक सहयोगमा प्रथम रनिङ्ग शिल्ड कप तेस्रो टोल स्तरीय फुटबल प्रतियोगिता २०८१ को आयोजना हुने भएको हो।
माघ २ गतेदेखि ५ गतेसम्म बेलबारी–३ अवस्थित प्रस्तावित रङ्गशाला टुक्रे खेल मैदानमा प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ। रनिङ्ग शिल्डमा ५० तोला चाँदी जडित रनिङ्ग शिल्ड हुने छ। रनिङ्ग शिल्ड प्राप्त गर्ने टोलले लगातार ३ पटक विजेता हुनु पर्ने वडा खेलकुद समितिका अध्यक्ष भोगेन्द्र राईले जानकारी दिए। अध्यक्ष राईले विगत ३ वर्षदेखि वडाका टोलमा रहेका खेलाडीहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तर खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको बताए।  
बेलबारी वडा नं.३ का वडा अध्यक्ष योगेन्द्र प्रसाद सुबेदीले वडा कार्यालयले खेललाई प्रवर्धन र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक वर्ष टोल कप खेलाउँदै आएको बताए। खेलाडीहरू सबै भन्दा धेरै उत्पादन टोलबाट हुने भएकोले खेलाडीहरुलाई प्रोत्साहन गर्ने र टोल विकासहरूलाई ऊर्जा मिल्ने उद्देश्यले गर्न लागिएको बताए।  
प्रतियोगितामा बेलबारी वडा नं.३ का ८ टोल विकास संस्थाहरू खानेपानी टोल विकास संस्था,फोकल्याण्ड टोल विकास संस्था,राधाकृष्ण खोरिया टोल विकास संस्था,सम्झना दोघरे टोल विकास संस्था, सुन्दरशान्ति टोल विकास संस्था, सिम्पाने टोल विकास संस्था मैनाबारी टोल विकास संस्था र मिर्मिरे टोल विकास संस्थाको सहभागिता रहने छ। प्रतियोगिताका विजेताले चाँदीको ट्रफी र नगद २१ हजार र उप–विजेताले शिल्ड मेडल प्रमाण पत्र र नगद १५ हजार प्राप्त गर्ने छ भने प्रत्येक दिन म्यान अफ दि म्याच र फाइनलमा विधागत पुरस्कार प्राप्त गर्ने छ। 
प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख ४२ हजार ५ सय खर्च हुने जनाइएको छ।