नेपाल सरकारका सहसचिव डा.भीष्म कुमार भुसालले भूकम्पले क्षति पुर्याएका संरचनाहरू सरकारले बनाउन करिब ३ देखी ५ लाख रुपैयाँ उपलब्ध गराउन सक्ने बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा बोल्दै उनले डोटीमा गएको भूकम्पले क्षति पुर्याएका घरहरू पुर्न संरचना गर्नका लागि सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने बताएका हुन्।
उनले भने, ‘भूकम्पले क्षति पुर्याएका घरहरू निर्माण गर्न सरकारले ३ देखी ५ लाखसम्मको रकम छुट्याएको छ। हिमाली क्षेत्रमा ५ लाख, पहाडी क्षेत्रमा ४ लाख र तराइ क्षेत्रका लागि ३ लाख छुट्याएको छ। अब यसमा घर बन्ने हो की होइन भन्ने पोचिलो प्रश्न उठ्नु स्वाभाविक नै हो। हामीले भूकम्पले क्षति पुर्याएका डोटीका घरहरू पनि हेरे तर ती घरहरू २० देखी २५ हजारमा बनेका पनि छन्। अहिले चाहिँ सरकारले ४ लाखसम्म उपलब्ध गराउने भनेको छ।’
यसैगरी उनले सरकारले आफ्नो क्षमता अनुसार कति सहयोग गर्छ त्यो सरकारको ढुकुटीमा निर्भर रहने बताए। उनले कुनै पनि विपद्मा भएको क्षतिको परिपूरण जस्ताको त्यस्तै संसारमा कुनै देशले पनि गर्न नसक्ने बताए।
उनले भने, ‘सरकारको आफ्नो क्षमता अनुसार कति सहयोग गर्छ त्यो सरकारको ढुकुटीमा निर्भर पर्छ। बाँकी कुनै पनि विपद्मा भएको क्षतिको परिपूरण जस्ताको त्यस्तै संसारमा अमेरिकाले पनि गर्न सक्दैन। पुरै क्षतिको परिपूरण कुनै देशले गर्न सक्दैन। त्यसैले, नेपालले पनि न्यूनतम आवासको चाहिँ हक सुनिश्चित गर्नको लागि सरकारले सपोर्ट गर्नुपर्ने विषय चाहिँ हो।’