अङ्ग्रेजी नयाँ वर्षको दिन मनाइने राष्ट्रिय टोपी दिवस युरोपेली मुलुक पोर्चुगलमा पनि मनाइएको 
गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा अङ्ग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना आदानप्रदान तथा टोपी दिवस मनाइएको हो। लिस्बनस्थित अलमेदा पार्कमा सामूहिक रूपमा भेला भई यहाँका नेपाली समुदायले शुभकामना आदानप्रदान तथा टोपी दिवस मनाएका हुन्।
सो अवसरमा राष्ट्रिय झण्डासहित नेपाली टोपीमा सजिएका नेपालीहरूले सामूहिक नाचगान र मनोरञ्जन गर्नुका साथै शुभकामना आदानप्रदान गरेका थिए। सङ्घका कार्यवाहक अध्यक्ष दिनेश खड्काको अध्यक्षता तथा कार्यवाहक महासचिव दीपेश विष्टको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष युवराज पन्थी, नेपाल राष्ट्रिय तामाङ घेदुङ (सङ्घ) पोर्चुगलका अध्यक्ष इमानसिंह तामाङ, बागलुङ समाज पोर्चुगलका महासचिव कृष्ण केसी, सङ्घकी उपाध्यक्ष पुनम गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विदेशी भूमिमा नेपाली संस्कृति र पहिचानको संरक्षण, सम्बन्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरी टोपी दिवस मनाइएको सङ्घले जनाएको छ।’नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ विश्वभरका नेपालीले हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ।