केही दिन देखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शितलहरी हुन थालेपछि रौतहटमा अत्यधिक चिसो बढेको छ। चिसो बढ्दै गएपछि ग्रामीण बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ।
अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ। दिउँसो पख हुस्सु केही कम भएपनि घाम भने नलाग्ने गरेको शिव नगरका सुवास मिश्रले बताए। बिहानैदेखि बाक्लो हुस्सु, शीतलहरूसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण छ भने यस समयमा व्यापार घटेका कारण पसले चिन्तित रहेको उनको भनाइ छ।
चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको उनले बताए । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको किसानहरू बताउँछन्। बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा असर पुगेको छ।
चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ। पुसको दोस्रो सातामा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो। बढ्दो चिसोले स–साना बालबालिका, वृद्ध वृद्धा र अशक्त व्यक्ति प्रभावित भएको छ भने स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको छ।
जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। अहिले अस्पतालमा दम, निमोनिया, ज्वरो, झाडापखाला लगायतका बिरामीहरू आउने गरेको प्रादेशिक अस्पताल गौरले जनाएको छ। अत्यधिक चिसो बढेपछि यहाँका मुख्य चौकमा आगो ताप्ने व्यवस्था गर्ने सवसाधरणले पालिका सँग आग्रह गरेका छन्।