दुई वटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ।
शनिवार राति स्थानीयहरूले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन्।
नेपाली काँग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौँडा १२ र १३ को सिमाना बिच रोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका मानिसहरू बाघको आतङ्कबाट त्रसित भएका छन्। स्थानीयहरूले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसँग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।