कन्दरा ब्यान्डले अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो बिहानीको कोसेलीको अवसरमा नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गरेको छ। 
ब्यान्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको यो म्युजिक भिडियो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन्। 
सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वबारे प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर यो गीत तयार पारिएको हो। यो गीत राष्ट्रभक्तहरूका लागि विशेष सान्दर्भिक छ। 
यसले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न, हामीलाई आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यहरूलाई आत्मसात् गर्न, सामना गरिरहेका कठिन परिस्थितिहरू, नकारात्मक सोच र अन्धकारलाई पछाडि छोडेर उज्यालो भविष्यको सपना देख्न यो गीतले प्रेरित गर्छ। 
आशावादी बन्न, एकजुट भएर काम गर्न प्रेरित गर्ने यस गीतले देशको रूपान्तरणका लागि व्यक्तिगत परिवर्तनको महत्त्वलाई उजागर गर्दै विभाजन र द्वन्द्वले होइन एकताले हामीलाई बलियो बनाउँछ भन्ने गीतको सन्देश छ।
गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरे। कन्दराका प्रमुख भोक लिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, ‘साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत। ठ्याक्कै देशले खोजे जस्तो।’ ओलीले गायक विवेकलाई धन्यवाद दिँदै सन् २०२५ बाट प्रारम्भ गर्न थालेको कन्दराको विश्व भ्रमणको पनि शुभकामना दिए।
गायक श्रेष्ठले यो गीतले नेपालीहरूमाझ सकारात्मक सम्भावनाको बिम्ब प्रस्तुत गरेको बताए। उनले भने, ‘यो गीत आशाको किरण हो, जसले हरेक नेपालीलाई आफ्नो दायित्व, जिम्मेवारी र एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा दिनेछ।’ प्रधानमन्त्रीले गीतलाई अपनत्व दिएर यसको म्युजिक भिडियो सार्वजनिक गर्नुले आफूहरूलाई थप उत्साह प्रदान गरेको श्रेष्ठले बताए।
‘हुनेछ: द सङ्ग अफ होप’मा शब्द तथा सङ्गीत ब्यान्डका ड्रम वादक सुनिल थापाको रहेको छ। गीतको भिडियो निर्देशन र कथा केदार भुसालले तयार पारेका हुन् । सेटमा क्यामेरा सञ्चालन नवीन थापा र दीपेश केसीले गरेका छन् भने मोन्टाज र बी–रोल्समा यज्ञ ज्ञवाली र दीपेश केसीको सहयोग रहेको छ । सम्पादन मधु सन्जेलले गरेका छन् भने भीएफएक्स बम बहादुर थापाले गरेका छन्।
गिटार, मिक्सिङ, र मास्टरिङ देव लामाले गरेका छन्, बासमा पङ्कज झा, किबोर्डमा उमेश थापा, र पर्कसनमा अविनाश गायकले योगदान दिएका छन्। गीतको एरेन्ज र गिटार वर्क हरि महर्जनले गरेका छन्। गीतको निर्माणमा रेडियो नेपाल, स्टुडियो प्रोजेक्ट प्रोडक्सन, र डिएलसी जस्ता प्रतिष्ठित स्टुडियोले सहकार्य गरेका छन्। कला निर्देशन सन्तोष देवकोटा र पोस्टर र प्रचारप्रसार रोयल भीमसेनले तयार पारेका छन्। 
कन्दरा ब्यान्डका ‘लेककी हे माया’,‘बिदेसिएर गइन् उनी’,’चञ्चले कान्छीको’,‘भेडी गोठैमा’,’हङकङ पोखरा’,’तगारोमा रुमाल’ र ’बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा बहुचर्चित छन्। कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन्। भोक लिस्ट श्रेष्ठ र ड्रम्स वादक सुनिल थापा ब्यान्डका संस्थापक सदस्य हुन्।
यसअघि नै कन्दरा ब्यान्डले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई ’पहिला घरदेश, अनि परदेश’को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरिसकेको छ।