इलामको सन्दकपुरमा एक दम्पती मृत फेला परेका छन्। श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।

सन्दकपुर– १ भित्ते बस्ने वर्ष अन्दाजी ४६ का उजबहादुर राई र उनकी श्रीमती वर्ष अन्दाजी ४० की फुलमाया राई मृत फेला परेका हुन्। घरदेखि अन्दाजी १५ मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा फेला परेकी फुलमायाको टाउकाको पछाडि भागमा गहिरो चोट रहेको छ भने उजबहादुर उक्त घटनास्थलदेखि अन्दाजी ५० मिटर दक्षिण खोल्सामा रहेको निबाराको रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएका छन्।

त्यस वडाका वडा अध्यक्षले आज बिहान ७ बजे घटनाबारे प्रहरीलाई खबर गरेका थिए। अजबहादुर र फुलमाया मात्र घरमा बस्ने गरेका थिए। उनीहरूका जेठा छोरा वैदेशिक रोजगारमा रहेका छन् भने कान्छा छोरा रोजगारकै क्रममा फिक्कलमा छन्। घटनाबारे अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ।