स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन्।
काठमाडौँ ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए।
एक वर्ष अघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक पटक पहल थालेका थिए। 
सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेका थिए। त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो।
सडकमा माटो बिच्छ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए। 
बुधबार पुनः निरीक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराए। मन्त्रीसामू सम्बद्ध अधिकारीहरुले एक दुई दिनभित्रै कालोपत्रे सम्पन्न गराउने प्रतिबद्धता जनाएका थिए। 
सडकअन्र्तगतको चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गङ्गालालसम्मको खण्ड भने नेपाल विद्युत प्राधिकरणले कालोपत्रे गर्ने भएको छ। प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरुले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।