नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभागका प्रमुख किरण पौडेलले प्रवासमा बस्ने नेपालीहरूले आफ्नो पहिचान नबिर्सन आग्रह गरेका छन्।
अस्ट्रेलिया भ्रमणमा रहेका पौडेलले नेपालमा भएको जग्गा जमिन नबेच्न आग्रह गर्दै मातृभूमिप्रति प्रेम कायम राख्न आग्रह गरे। उनले भने,‘नेपालमा भएको जग्गाजमिन कसैलाई कमाउन दिनुहोला। घर संरक्षण गर्नुहोला तर बेच्ने काम नगर्नुहोला।’
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विदेशिएका नेपालीहरूले आफ्नो पहिचान बिर्सने खतरा रहेको उल्लेख गर्दै मातृभूमिमा रहेको जायजेथा जोगाएर राख्न र भावी पुस्तालाई मातृभूमिप्रति आकर्षित गराउन सम्पत्तिको संरक्षण गर्नुपर्ने बताएका हुन्।
विभागीय प्रमुखको जिम्मेवारी पाएपछि जनसम्पर्क समितिको अधिवेशन गराउने दिशामा आफू अघि बढेको पनि बताए।
उनले भने,‘जनसम्पर्क समितिहरुको अधिवेशनका सवालमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ। सोही निर्णयलाई आधार मानेर अधिवेशन गराउनेतर्फ सबै देशका जनसम्पर्क समितिका साथीहरू अघि बढ्नुपर्छ।’