पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई बर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले नयाँ मासिक श्रृङ्खला शुभारम्भ गरेको छ।
बोर्डको सभाकक्षमा आयोजना गरिएको मासिक शृङ्खलाको उद्घाटन सत्रमा शुभ श्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका  ६५ विद्यार्थीहरू सहभागी थिए।
बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले भने,‘यो हाम्रो पर्यटनको भविष्य प्रवर्द्धन गर्ने पहल हो। यस क्रममा भाइबहिनी र उद्योगीहरूको साथको अपेक्षा गर्दछौँ ।यस्तै, अहिलेको पर्यटनको प्रवृत्ति एक्सपेरियन्स ट्राभल रहेको पनि बताए। 
कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले कार्यक्रमले विद्यार्थीहरूलाई जागिर उन्मुख हुनेभन्दा पनि उद्यमी बन्न जोड लगाउनुपर्ने बताए। बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए।
यसैगरी कार्यक्रममा सुभश्री कलेजका प्राचार्य मनिता ओलीले युवा जनशक्तिले हरेक समय केही न केही सिकिरहनु पर्ने र यस कार्यक्रमले पनि सबैलाई सिक्ने मौका दिएको बताइन्।
उक्त  श्रृङ्खलाबाट अनुभवी पेसा व्यवसायीहरु, शिक्षकहरू, र विद्यार्थीहरूलाई पर्यटनमा नवीनतम प्रवृत्तिहरू छलफल गर्न र भविष्यका अवसरहरू अन्वेषण गर्न अभिप्रेरित गर्ने र सहभागीहरूले अनुभव साटासाट र एकअर्कालाई प्रेरणा दिने मौका पाउनेछन्।