चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ।
चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितीशा महतो विजेता बनेकी हुन्। हाम्रो टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितिमा भएको छनोट कार्यक्रममा चितवन शक्तिले नितीशालाई छनोट गरेको हो। 
५.९ फिट उचाइ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने छिन्।
चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाइ तथा पोजिसनको आधारमा नितीशा छनोट भएकी हुन्। 
आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम अनुसार उनलाई छनोट गरिएको हो। 
१७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेकी छिन्। उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ। 
एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रङ्गशालाको कभर्डहलमा हुनेछ।
चितवन शक्तिको टिममा अरुणा शाही, सुर्या सरसुरी, केपी अनुश्री,अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य,भावना डाँगी र नितीशा महतो रहेका छन्।