राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले घिमिरेको योगदान अतुलनीय रहेको बताएका हुन्।
‘राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदना मात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ’, राष्ट्रपति पौडेलले भने। 
उनले कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा व्यक्त गरे। 
‘यसैका माध्यमबाट एउटा समृद्ध समाज निर्माण मात्र होइन आपसमा भाइचारा, मेलमिलाप र राष्ट्रिय एकताको भावना जागृत गरी यसलाई सुदृढ र सबल बनाउन योगदान पुग्दछ भन्ने मलाई लाग्दछ, त्यसैले, राज्यले मात्र होइन जनस्तर र वाङमयप्रेमीहरूले स्रष्टाहरूको सम्मानमा कञ्जुस्याई गर्न हुँदैन,’ उनले भने। 
उनले भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताए । “यिनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो”, राष्ट्रपति पौडेलले भने।  
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको भाषा, कला, साहित्य, संस्कृति, शिक्षासहित  मुलुकको वाङ्मयकै विकासको लागि देखाएको क्रियाशीलता र जागरुकता अनुकरणीय भएको उनको भनाइ थियो। राष्ट्रकविको जन्म जिल्ला लमजुङमा उनको प्रतिमा बनाएर राष्ट्रकविको विहङ्गम व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउन भइरहेको प्रयासले छिट्टै सार्थकता पाउने उनले विश्वास व्यक्त गरे। 
सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरे। सो पुरस्कारको राशि एक लाख रुपैयाँसहित सम्मान पत्र रहेको छ।