राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ प्रचण्डको संविधान भएको दाबी गरेका छन्। 
संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन्। 
आजको वास्तविकता पनि प्रचण्डबाट नै उजागर भएको र अब सुधारको लागि पनि प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्ने उनको धारणा छ। 
उनले भने, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु र अहिले हामी जुन बाटो हिँडिरहेका छौँ, त्यो यहाँ अरू पार्टीका साथीहरू पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो। र जब उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ। ३२ सिटको जादुमय कुरा त उहाँ आफैँले गर्नुभएको छ, सिट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ। यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता छ त्यो पनि यहीबाट उजागर भएका छन्, र जे सुधार खोजिन्छ अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्छ भन्ने मेरो धारणा हो।’
यसको साथै, उनले काङ्ग्रेस र एमालेका साथिहरुले यो संविधान हामीले बनाएको भनेर हात उठाए पनि संविधानको निर्माणमा सबैको सहायक भूमिकामा केन्द्रमा प्रचण्ड नै रहेको बताए। 
संविधानको अब हाँगा र पातको उपचार खोजेर यसलाई टालटुल गरेर देशलाई सही दिशामा ल्याउन नसकिने पनि उनको भनाई छ । 
उनले भने, ‘तपाईँको कोटमा एक, दुई ठाउँमा प्वाल पर्‍यो भने सिलाउन सकिन्छ तर जताततै बाट च्यातियो भने सकिदैँन त्यसैगरि यो संविधानको अब हाँगा हाँगा र पातको उपचार खोजेर यो संविधानले यो देशलाई सही दिशामा ल्याउन सकिँदैन। यो संविधानलाई टालटुल गरेर हुँदैन।’