राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिन नपाएको बताएकी हुन्। 

उनले भनिन् , ‘११ दिनभयो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जाँच नभएको र चल्दै गरेको जाँचले गर्दाखेरी १४ सय जना विद्यार्थीहरु अड्किएका छन्। विश्व विद्यालयमा पठनपाठन ठप्प छ। अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने हो? पठन पाठन कम  र पार्टीहरुको गतिविधि बढि हुन थाल्यो। गठबन्धनका विद्यार्थी सङ्गठनको लडाईका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’

सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले पढ्ने र परीक्षा दिने अधिकारबाट बन्चित गराएको बताइन्। उनले ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो भन्दै प्रश्न समेत गरिन्।