भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–१२, मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मंगलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको हो। पाठेघरमा सिष्ट भएको भन्दै उनको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो।

बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखे पनि बचाउन नसकिएको उनले जानकारी दिए। 

मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन्। मंगलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस नआएको पौडेलले बताए।

घटनाका बारेमा थप अनुसन्धान हुँदै छ।