नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो । समाजका भक्ति शाहका अनुसार सधैँझैँ यसपालि पनि गौरव यात्रा आयोजना गरिने र देशभरबाट समुदायका व्यक्तिहरूलाई काठमाडौँ बोलाइएको छ । 
‘२०८१ भदौ ४ गते हामी कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि दिउँसो १ बजे भेला हुनेछौँ र दिउँसो १ः३० बजे गौरव यात्रा सुरु हुनेछ । यात्रा वसन्तपुर डबलीमा हाम्रा दिवङ्गत साथीहरू र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन हुनेछ,’ नीलहिरा समाजको सूचनामा भनिएको छ । 
‘संस्कृति मनाऔँ, लैङ्गिक विविधता अङ्गालौँ’ भन्ने नाराका साथ मनाउन लागिएको गाईजात्रामा मौलिक पोसाक, संस्कृति, बाजागाजासहित उनीहरू सडकमा आउने पनि शाहले जानकारी दिए । ‘समाजमा हामी पनि छौँ, हाम्रो पनि अधिकार र पहिचान छ भन्ने सन्देश दिनका लागि गाईजात्रालाई विशेष बनाइएको हो,’ उनले भने । 
समुदायमा व्यक्तिहरूले आफूले चाहेको पोसाक लगाउन र स्वतन्त्रताको अनुभूति गराउन गाईजात्रा प्रदर्शनी उपयोगी भएको पनि उनले जानकारी दिए । प्रदर्शनीमा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी एवम् विभिन्न देशका कूटनीतिज्ञहरूलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।