वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि मन्त्रालय लागि परेको बताएका छन् ।
आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको बैठकमा उनले सबैको चासोको रूपमा वातावरण विभाग रहेको भन्दै यसमा सरकार गम्भीर भएर लागेको बताए । 
वातावरण मन्त्रालय नै अर्को बनाउने कुरा भने सम्भव नरहेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई नै सम्पन्न बनाएर लान सकिने पनि उनको भनाई छ । 
उनले भने, ‘भविष्यमा युवाहरूको बढुवाको अवसर र उहाँहरूलाई यो वातावरण समूहमा पनि आबद्ध गर्ने कुरा अगाडि बढी सकेको कुरा जानकारी गराउन चाहन्छु । सबैको चासोको रूपमा रहेको वातावरण मन्त्रालय र वातावरण विभाग नै छुट्टै हुनु पर्छ भन्ने कुरा पनि आएको छ । वातावरण विभाग कार्यरत छ र त्यहाँ पर्याप्त जनशक्तिको अभाव र स्रोतसाधनको अभाव छ नै यसलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि वन तथा वातावरण मन्त्रालय लागि परेको छ ।’ 
यसको साथै, उनले वातावरण परिषद् बनाउने कुरामा पनि मन्त्रालय सकारात्मक रहेको भन्दै यो विषयमा छलफल अगाडि बढाएर वातावरण परिषद् निर्माण गर्ने बताए । 
उनले वन मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय भनेर अझै व्यापक बनाउनु पर्ने कुरा उल्लेख गर्दै जलवायु परिवर्तनको बारेमा पनि गम्भीर रहेको बताए । 
उनले भने, ‘अहिले जलवायु परिवर्तनको कुरा विश्वव्यापी रूपमा आएको छ । यसले नेपाललाई पनि प्रभाव पारेको हुनाले वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय भनेर अझै व्यापक बनाउनु पर्छ जस्तो लाग्छ । यस विषयमा छलफल हुन आवश्यक छ । जलवायु परिवर्तनको बारेमा गम्भीर भएर लागेका छौ ।’ 
आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका सम्बन्धमा छलफल भएको थियो ।