वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वर्तमान सरकार बनेपछि सकारात्मक गतिविधिहरु अगाडि बढेको बताएका छन् । 
शनिबार राष्ट्र संरक्षण साप्ताहिकको १७ औं वार्षिकोत्सव समारोहमा उनले देशमा आर्थिक क्षेत्र चलाएमान र लगानीकर्ताहरु उत्साहित बनाउने कुरामा वर्तमान सरकार लागेको बताए । 
उनले भने, ‘आज जुन सहकार्यमा सरकार निर्माण भएको छ, यो सरकार निर्माण भएपछि देशमा सकारात्मक गतिविधिहरु र सन्देश प्रवाह भइरहेको छ । आर्थिक क्षेत्र चलाएमान भएको छ, लगानीकर्ताहरु उत्साहित भएका छन् । टिआरसी विधेयक पारित गरेर देशमा दिगो शान्तिको एउटा चरण पनि अगाडि बढेको छ । सरकारको स्थायित्वका लागि देशमा सुशासन र भ्रष्टाचार नियन्त्रणमा जिम्मेवारी बहन गर्नुपर्नेछ ।’
युवा पलायन हुने अवस्थालाई रोक्न नेपालमा केही गर्न सकिन्छ भन्ने अवस्था निर्माणमा सरकार अगाडि बढेको उनको भनाई छ । 
यस्तै, उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनको लागि राजनीतिक दलहरु एकआपसमा समन्वय र सहकार्य गरेर अगाडि बढ्नुपर्ने पनि बताए ।