माओवादी केन्द्रका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालजस्ता देशहरूले नगरेको गल्तीको सजाय भोगिरहेको बताएका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल फुटेर बाढीले ठुलो धनजन क्षति व्यहोर्नुको पछाडि नगरेको गल्तीको सजाय भोगिरहेको प्रसङ्ग उल्लेख गरेका हुन् । 

शनिवार सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयमिक जोखिममा पर्दै गएको उल्लेख गरेका छन् । 

Photos (1) 1

‘हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन्, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठुलो क्षति भइरहेको छ। मैले संयुक्त राष्ट्रसङ्घको महासभादेखि कोप २८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ । नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ,’ उनले अगाडि भनेका छन्,‘ हिजो मात्र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल फुटेर बाढीले ठुलो धनजनको क्षति भएको छ र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको छ ।’

अध्यक्ष प्रचण्डले नेपाल सरकारलाई उद्धार र राहतमा कमी हुन नदिन आग्रह पनि गरेका छन् । उनले विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन अपिल समेत गरेका छन् ।