सिराहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी बस्ने ३० वर्षीय रोशिना खातुनको मृत्यु भएको हो। 

चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेको खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्‍याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए। 

खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ। उनी चोहर्वामा बसेर बिडी बनाउने काम गर्दै आएकी थिइन्।