१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ।

जिल्ला अदालत धादिङले दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गरेको हो। न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो।

फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की गीता न्यौपाने, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ की कविता बानियाँ (आचार्य) र सोलुखुम्बूको नेचा सल्यान गाउँपालिका–२ की कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवानाको सजाय भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए। उनीहरुले पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख छ।

अदालतले त्रिपुरासुन्दरी–१ का ३९ वर्षीया कोपिला दमै र त्रिपुरासुन्दरी–३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५/१५ वर्ष कैद र एकरएक लाख जरिवाना गर्ने फैसला गरेको छ।