बेलबारी : मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम नगरसभामा पेस गरेको छ। प्रत्येक वर्ष असार १० गतेसम्म सबै स्थानीय तहहरूले नीति तथा कार्यक्रम नगरसभामा पेस गरिसक्नुपर्ने कानूनी व्यवस्थाअनुसार बेलबारी नगरपालिकाले पनि निर्धारित मितिमै नीति तथा कार्यक्रम पेस गरेको हो। नगरप्रमुख दिलप्रसाद राईको अध्यक्षतामा बसेको १५ औँ नगरसभा बैठकमा नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले नीति तथा कार्यक्रम पेस गरेकी छन्।
नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा भइरहेको निःशुल्क सेनिटरी प्याड वितरणको कार्य अविछिन्न राखिएको छ। यसैगरी, नगर गौरवका आयोजनाअन्तर्गत प्रत्येक वडामा ४० लाख रुपियाँको योजना सञ्चालन गर्ने नीति बेलबारी सरकारले लिएको छ। यस्तै, उपमेयरसँग मातृशिशु, उपमेयरसँग छात्राजस्ता कार्यक्रम अगाडि बढाइने नीति पनि बेलबारी सरकारले तय गरेको छ। बालमैत्री स्थानीय शासनको अवधारणा लागु गर्दै बालमैत्री नगर घोषणा गर्ने तथा बाल विकास र बाल सहभागिता बढाउने कार्यक्रम सञ्चालन गर्ने नीति पनि बेलबारी सरकारको नीति तथा कार्यक्रममा समाहित छ।
बेलबारी प्रज्ञा प्रतिष्ठानको क्षमता अभिवृद्धि गर्ने तथा वातावरणमैत्री नगर घोषणाका साथै भू–संरक्षण, नदी नियन्त्रण, वृक्षारोपणजस्ता दीर्घकालीन महत्वका योजनाले पनि नीति तथा कार्यक्रममा स्थान पाएका छन्। सामाजिक सुरक्षा र पञ्जीकरण सेवालाई व्यवस्थित गर्ने तथा घरनक्सासम्बन्धी सेवालाई डिजिटल प्रविधिसँग आबद्ध गर्ने लक्ष्य पनि बेलबारी सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ।
यसैबीच, नगरसभाबाट बेलबारी नगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७९ तथा शिक्षासम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेका छुट्टाछुट्टै विधेयकहरू सभाको ध्वनी मतबाट बहुमतले पारित भएका छन्। नीति तथा कार्यक्रममाथि छलफल गर्न नगरसभाको अर्को बैठक असार २७ गते अपराहन्न १ः०० बजे बस्नेछ।