बेलबारी : मोरङको बेलबारी नगरपालिका ९ स्थित काली माध्यमिक विद्यालयमा तीन दिने कबड्डी खेल प्रशिक्षण कार्यक्रम सुरु भएको छ। बेलबारी ११, लक्ष्मीमार्गस्थित आदर्श युवा क्लबको आयोजनामा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्रशिक्षण कार्यक्रम सुरु भएको हो।

बेलबारी नगरपालिकाबाट प्राप्त ७० हजार रुपियाँ बराबरको बजेटबाट सुरु भएको कार्यक्रम असार १२ गतेसम्म सञ्चालन हुने बेलबारी नगर खेलकुद विकास समितिका सदस्य हेमन्त सुवेदीले जानकारी दिए। उनका अनुसार केही समयअघि कबड्डी प्रतिस्पर्धामा मोरङ जिल्लाभरका आठओटा पालिकामध्ये बेलबारीले सर्वोत्कृष्ट स्थान प्राप्त गर्दै महिला तर्फको उपाधि उचालेपछि कबड्डी विधामा राम्रो प्रदर्शन गर्दै ख्याती प्राप्त गर्ने सम्भावना देखेर नगरपालिकाले यसको प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको हो। प्रशिक्षण कार्यक्रम अवधिभर राष्ट्रिय स्तरकी प्रशिक्षक यशोदा पोख्रेलमार्फत् ५० जनाभन्दा बढी खेलाडीलाई प्रशिक्षण दिइने सुवेदीले उल्लेख गरे।

k 1प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दैै प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले खेलकुद व्यक्तिको स्वास्थ्य, अनुशासन र सामाजिकीकरणका लागि लाभदायक हुनुका साथै राष्ट्रको ख्याती प्रवद्र्धनमा पनि यसले महत्वपूर्ण योगदान गर्ने बताए। हालसम्म खेलकुद क्षेत्रको विकास र विस्तारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालित कार्यक्रमहरू पर्याप्त नभएको बताउँदै उनले तीनै तहको सहकार्यबाट खेलकुद क्षेत्रलाई उचाइमा पुर्याउन सकिने उल्लेख गरे। खेलकुद क्षेत्रको विकासका लागि खेल पूर्वाधार निर्माण तथा खेलमैत्री वातावरण निर्माणमा स्थानीय तहको भूमिका बढी महत्वपूर्ण हुने भन्दै उनले प्रदेश सरकारका तर्फबाट यसका लागि गर्नुपर्ने पहल गर्न आफू तत्पर रहेको बताए।

आयोजक आदर्श युवा क्लबका अध्यक्ष कमल राईको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बेलबारीका युवा समाजसेवी वीरबहादुर भट्टराई, काली माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण कोइराला, नेपाल खेलकुद महासङ्घकी केन्द्रीय सदस्य शीतल राय, बेलबारी नगर खेलकुद विकास समितिका सदस्य डम्बरबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।