नवलपरासी पूर्व मध्यविन्दु नगरपालिकाको एक रहमा नुहाउन गएका वृद्धलाई आक्रमण गरेको गोहीलाई चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।
सोमबार बिहान गोहीले आक्रमण गर्दा मध्यविन्दु नगरपालिका-२ का ७२ वर्षका मीनबहादुर थारूको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी बेदबहादुर पौडेलका अनुसार मान्छेलाई आक्रमण गरेको गोहीलाई चितवन निकुञ्जका अधिकारीहरूले नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगेका छन्। कसरास्थित गोही प्रजनन केन्द्रको नजिकै कुनै पोखरी, ताल वा रहमा छाडिने निकुञ्जका अधिकारीहरूले जनाएका छन्। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जभित्रको तालतलैयामा छोडिने छ।
मध्यविन्दु नगरपालिका वडा नम्बर-२ सेहरी गाउँस्थित नारायणी नदी किनारको रहमा आज बिहान नुहाउन गएका थारूलाई गोहीले तानेको हो।
प्रहरीले मृतक थारूको शव नारायणीबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको छ। नारायणी नदी र आसपासमा बाक्लै संख्यामा गोही देखिने गरेको स्थानीय बासिन्दा बताउँछन्।