माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा गएराति भएको भारी वर्षाले मेलम्ची खोलाको अस्थायी पुल बगाएको भन्दै पूर्व तयारीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भारी वर्षाको कारण सिन्धुपाल्चोकका ६ वटा वडाको आवतजावत अवरुद्ध भएको भन्दै हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरि पूर्व तयारीलाई व्यवस्थित तुल्याउन सरकारसँग माग गरेका हुन्।

‘वर्खा लागेपछि बाढी आउँछ र सबै अस्थायी संरचनाहरु बगाउँछ नागरिकले टुलुटुलु हेरेर आफ्नो सुविधा बगेको हेर्नु बोहक अर्को कुनै विकल्प नै छैन्। सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। बिभिन्न ठाउँ गरेर एक सय ५९ मिलि लिटर भारी वर्षा भएको छ। यसले गर्दा मेलम्चीको अस्थायी पुल बगाएको छ। ६ वटा वडाको आवतजावत अवरुद्ध भएको छ। सरकारको गम्भीर ध्यानाकर्षण गराउँन चाहान्छु। हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् र पूर्व तयारीलाई व्यवस्थित तुल्याइयोस्।’