काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

२ असारमा हुने भनिएको छलफलमा प्रमुख तीन राजनीतिक दलबाट निर्वाचित वडाध्यक्षहरूले नगरसभा बहिष्कार गरेपछि मेयर बालेन साहले बैठक स्थगित गरेका थिए।

चालु आर्थिक वर्ष २०८०/८१ को प्रगति, समीक्षा र आगामी आर्थिक वर्षका लागि शुक्रबार आफूले पेस गरेको महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन ५ मिनेट समय दिएका थिए।

नगर सभामा दलका तर्फबाट संशोधन प्रस्तावहरू संयोजन गर्न जिम्मा पाएका कांग्रेस, एमाले र एकीकृत समाजवादीका तीनै जना वडाध्यक्षहरू हलभित्र नदेखिएपछि नगर सभा सदस्यहरू धमाधम उठेर हिँडेका थिए।

नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ। नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आव २०८१/८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्।

विनियोजन विधेयक २०८१ पनि आजै आउने छ भने मेयर साहले आर्थिक विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।