झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ। 

पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिएका हुन्।

‘बहुवर्षे योजनाअनुसार सडक निर्माण  भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ। कालोपत्रको मोटाइ ४० सेन्टिमिटर रहने उनले बताए। 

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए। सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन्।