बेलबारी : मोरङको बेलबारी नगरपालिका कार्यालयमा आर्थिक वर्ष २०८०/८१ को सेवा प्रवाहसम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
सुनुवाइ कार्यक्रममा बेलबारीका विभिन्न क्षेत्रमा काम गर्ने संस्थासँग आबद्ध तथा स्वतन्त्र नागरिकका प्रश्नमाथि नगरपालिकाको सम्बन्धित शाखाले जवाफ दिएको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले माघ, फागुन र चैतमा विकास निर्माणका योजनाको सम्झौता गर्ने कार्य सम्पन्न गरी अहिले योजनाको काम अगाडि बढिरहेको जानकारी दिए। नगरपालिकाको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान दुवै यस वर्ष घट्न गएकाले चालु आयोजनाको बजेट २० प्रतिशत कट्टा गरिएको उनले उल्लेख गरे। पूँजीगत बजेटतर्फ ८० प्रतिशतभन्दा बढी र चालुतर्फ ७५ देखि ८० प्रतिशतसम्म खर्च गर्ने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको उनको भनाइ थियो।
सुनुवाइ कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै कार्यक्रमका सभापतिसमेत रहेका बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले १० लाख रुपियाँसम्म लगानी भएका आयोजना सञ्चालन गर्ने अधिकार स्थानीय सरकारलाई भएको बताए। स्थानीय सरकारले सञ्चालन गर्ने आयोजनामा नागरिक तहबाट २० प्रतिशत लागत सहभागिता गराउनुपर्ने कानूनी व्यवस्था रहेको बताउँदै उनले त्यसका लागि नागरिक तयार नहुँदा आयोजना सञ्चालनमा समस्या आउने गरेको उल्लेख गरे।
उच्च शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउन नगरले गरेका प्रयासमाथि प्रकाश पार्दै नगरप्रमुख राईले कक्षा ११ र १२ कक्षाको पठनपाठन बेलबारीका आठओटा सामुदायिक विद्यालयमा हुने गरेको र बेलबारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीको स्नातक प्रथम वर्षको भर्ना शुल्क नगरपालिकाले नै तिरिदिने गरेको जानकारी दिए। हाल १८ लाख रुपियाँ शिक्षाका लागि विनियोजित गरिएको बताउँदै उनले बढीभन्दा बढी छात्रवृत्ति दिनेगरी बजेट बढाउने प्रयास भइरहेको स्पष्ट पारे। यसैगरी, नगरप्रमुख राईले पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमका नाममा बेलबारीका कुनै पनि सामुदायिक विद्यालयले शुल्क लिन नपाउने व्यवस्था गरिएको जानकारी दिए।
कालोपत्रे सडकको मर्मतसम्भारका लागि ५५ लाख रुपियाँ विनियोजन भई ठेक्का लगाइसकिएको नगरप्रमुख राईले बताए। नागरिकको सुरक्षाका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै उनले सडकमा बत्ती र सीसीक्यामरा जडानका साथै सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधनका लागि इन्धनको व्यवस्था नगरपालिकाले गरिदिने व्यवस्था मिलाइएको जानकारी दिए।
नगरप्रमुख राईकै सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका बेलबारी नगर अध्यक्ष शङ्कर गुरुङ, नेपाली काङ्ग्रेसका बेलबारी नगर सभापति छत्र लिम्बू, नेकपा समाजवादीका बेलबारी नगर अध्यक्ष भूपाल बस्नेत, सुरक्षा निकायका स्थानीय प्रमुखहरू लगायतको उपस्थिति थियो।