बेलबारी : मोरङको बेलबारी नगरपालिका-३ स्थित गुरुकुल पाठशालाले नयाँ शैक्षिक सत्र २०८१ लाई लक्ष्यित गर्दै शिक्षकहरूका लागि अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
निर्धारित पाठ्यक्रममा समावेश रहेका विषयवस्तुको शिक्षण अवधि, शिक्षण विधि, सिकाइको उद्देश्य, मूल्याङ्कन प्रकृया, तथा विद्यालयमा मर्यादा तथा अनुशासन कायम गराउन पालना गर्नुपर्ने नियमहरूको एकीकृत जानकारी दिनेगरी अभीमुखीकरण कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कुमार खुलालले जानकारी दिए।
उनका अनुसार विद्यालयका नवप्रवेशी शिक्षकहरूलाई विद्यालयको कार्य प्रणालीसँग परिचित गराउन पनि कार्यक्रमले सहयोग पुग्नेछ। अभीमुखीकरण कार्यक्रमले शिक्षकलाई पाठ्यक्रमको उद्देश्य पूरा हुनेगरी शिक्षण गर्न र विद्यार्थीको शैक्षिक प्रगतिको निरन्तर मूल्याङ्कनको अभिलेख दुरुस्त राख्न पनि मद्दत पुग्ने प्रधानाध्यापक खुलालको भनाइ छ।
अभीमुखीकरण कार्यक्रममा सहभागी शिक्षक प्रदीपप्रकाश उप्रेतीले अभीमुखीकरण कार्यक्रम शिक्षकलाई पाठ्यक्रमले निर्धारण गरेको उद्देश्य पूरा हुनेगरी शिक्षण गर्न प्रेरित गर्ने किसिमले सञ्चालन भएको प्रतिकृया दिए। यस कार्यक्रममा सहभागी हुने शिक्षक पाठ्यक्रमले निर्देशित गरेको लक्ष्यबाट विचलित नभई शिक्षण सिकाइको उपलब्धि विद्यार्थीलाई हस्तान्तरण गर्न सक्षम हुने बताउँदै उनले यसले विद्यार्थीलाई पनि पाठ्यक्रमले दिने सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारका ज्ञान बोध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।