बेलबारी : मोरङको केराबारी गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न थालेको छ। क्रमिक रूपमा नेपाली माध्यमको कक्षालाई अङ्ग्रेजी माध्यममा रूपान्तरण गर्दै आएको विद्यालयले क्रमिक रूपमा कक्षा १० सम्मको सम्पूर्ण पठनपाठन अङ्ग्रेजी माध्यममै गर्ने नीति लिएको विद्यालयका प्रधानाध्यापक छविलाल धमलाले जानकारी दिए।

sfgfsgsgsउनका अनुसार अन्य विद्यालयले अङ्ग्रेजी माध्यमको पठनपाठनमा शुल्क लिँदै आएको भएपनि यस विद्यालयले अङ्ग्रेजी माध्यमका नाममा कुनै शुल्क नलिई सबै कक्षाको पठनपाठन निःशुल्क सञ्चालन गर्दै आएको छ। यसका अतिरिक्त अङ्ग्रेजी तथा नेपाली दुवै माध्यमका सबै पाठ्यपुस्तक तथा कापीसमेत विद्यालयले नै निःशुल्क उपलब्ध गराउँदै आएको प्रधानाध्यापक धमला बताउँछन्।

विद्यालयले विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सैद्धान्तिक तथा प्रयोगात्मक दुवै विधिबाट शिक्षण गर्दै आएको छ। पुस्तकले निर्धारण गरेको पाठ्यक्रमका साथै दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीपसमेत विद्यार्थीलाई प्रदान गर्ने ढङ्गले शिक्षण प्रकृया सञ्चालन गरिएको प्रअ धमलाले उल्लेख गरे।

यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी सूचना प्रविधिजस्ता नवीनतम वैज्ञानिक प्रविधिसँग परिचित रहने हुँदा उनीहरूले विश्व बजारमा अब्बल जनशक्तिका रूपमा प्रतिस्पर्धामा उत्रन सक्ने क्षमता राख्ने विद्यालय प्रशासनको विश्वास छ। स्वरोजगार बनी गुणस्तरीय जीवनयापन गर्नुका साथै आफूमा रहेको ज्ञान तथा कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्षम बनाएर आफ्ना विद्यार्थीलाई बजारमा पठाउने गरेको विद्यालय बताउँछ।

प्रयोगात्मक सिकाइ प्रकृयालाई सुव्यवस्थित तथा नतिजामुखी ढङ्गले सञ्चालन गर्नका लागि विद्यालयले सुविधासम्पन्न विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ। यसका माध्यमबाट विद्यार्थीलाई कक्षामा सैद्धान्तिक रूपमा अध्ययन गरेका विज्ञानसम्मत तथ्यहरूमाथि प्रयोगात्मक परीक्षण गरी सिकाइलाई तार्किक निष्कर्षमा पुर्याउन मद्दत पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।

dfhdfhdhयसका साथै, सूचना प्रविधिसँग विद्यार्थीलाई साक्षात्कार गराई उनीहरूको कार्यक्षमता प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयले कम्प्युटर विज्ञानको अध्ययनलाई पनि पाठ्यक्रममा समावेश गरेको छ। कम्प्युटर विज्ञानका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक परीक्षण गरी निष्कर्षमा पुर्याउन विद्यालयले सुविधासम्पन्न कम्प्युटर प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ।

यसका साथै विद्यार्थीमा पठन संस्कृति विकास गराउनका लागि विद्यालयले सुविधासम्पन्न पुस्तकालयको पनि व्यवस्था गरिदिएको छ। पुस्तकालयमा राखिएका विभिन्न विषयका पुस्तकको अध्ययनबाट विद्यार्थीले आफ्नो सूचना र ज्ञानको क्षितिजलाई फराकिलो बनाउने मौका पाउने विद्यालयको भनाइ छ।

विद्यालयमा साना बालबालिकाका लागि बालमैत्री कक्षाकोठा तथा खेलौना र टेलिभिजनको व्यवस्था गरी रमाएर पढ्ने –लर्न विथ फन को वातावरण विद्यालयले मिलाएको छ। यसैगरी, पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा उपलब्ध गराई नियमित रूपमा विद्यालय आउन प्रोत्साहित गर्ने गरिएको छ।

विद्यार्थीको शारीरिक तन्दुरुस्ती र सामाजिकीकरण प्रकृयालाई टेवा पुर्याउन विद्यालयले उनीहरूलाई फुटबल, भलिबलजस्ता खेलकुदका गतिविधिको अभ्यास तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी हुने अवसर पनि प्रदान गर्दै आएको छ।यसका अतिरिक्त विद्यार्थीको प्रतिभा र रुचीअनुरूप साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, हाजिरीजवाफ, वक्तृत्वकला, वादविवादजस्ता रचनात्मक प्रतियोगिताहरूमा पनि विद्यालयले उनीहरूलाई सामेल गराउने गरेको छ। विद्यालयले यसै वर्षदेखि नेपाली सेनाको समन्वयमा एनसीसी कार्यक्रममा पनि विद्यार्थी पठाउन सुरु गर्ने तयारी गरेको प्रअ धमलाले जानकारी दिए।

विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीका लागि गैरसरकारी क्षेत्रबाट हरेक वर्ष एक जनाका लागि ५० हजार रुपियाँ बराबरको इन्डोर्स छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालित छ। हालसम्म दुई जना विपन्न विद्यार्थीले सो छात्रवृत्ति पाएको विद्यालयको अभिलेख छ।

विद्यालयमा अध्ययनरत विद्यार्थी पनि विद्यालयको पठनपाठन र शैक्षिक वातावरणप्रति सन्तुष्ट रहेको पाइन्छ। विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा करुणा आचार्य विद्यालयका शिक्षकहरूको व्यवहार विद्यार्थीमैत्री रहेको बताउँछिन्। विद्यार्थीका जिज्ञासाको समाधान शिक्षकले तदारुकता र समर्पणका साथ गरिदिने गरेको उनको अनुभव छ। 

यसैगरी, कक्षा १० मा अध्ययनरत छात्र आर्यन गुरुङ विद्यालयले विद्यार्थीको क्षमता र रुचीअनुसार विभिन्न अतिरिक्त कृयाकलापमा सहभागी हुने अवसर दिने गरेको बताउँछन्।

उनका भनाइमा विद्यालयले भलिबल, फुटबलजस्ता शारीरिक खेलका साथै वक्तृत्वकला, हाजिरीजवाफ जस्ता सृजनात्मक तथा अभिव्यक्तिशील क्षमता अभिवृद्धि गराउने प्रकृतिका प्रतियोगितामा पनि विद्यार्थीलाई सामेल गराउँदै आएको छ।

विद्यालय सञ्चालनका लागि आर्थिक स्रोतको अभाव रहेको भएपनि विभिन्न दातृ निकायसँग समन्वय गरी सञ्चालन नियमित गरिएको विद्यालय व्यवस्थापन समिति बताउँछ। समितिका अध्यक्ष कञ्चनकुमार बुढाथोकीका अनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको छ भने स्थानीय सामुदायिक वनले पनि सञ्चालनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

हालसम्म प्राथमिक तहका शिक्षक मात्र सरकारी दरबन्दीमा रहेको विद्यालयमा माध्यमिक तहका लागि एक जना मात्र शिक्षकको दरबन्दी कायम छ। यसैगरी, निम्न माध्यमिक तहतर्फ कुनै पनि दरबन्दी नरहँदा राहत कोटाका शिक्षक परिचालन गरिएको छ भने केही दरबन्दी निजी स्रोतबाट परिचालन गरिएको अध्यक्ष बुढाथोकी बताउँछन्।

सरकारी विद्यालयको सञ्चालनलाई व्यवस्थित र नियमित गर्नका लागि सरकारले विद्यालयको भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा लगानी बढाउनु आवश्यक छ।