बेलबारी : मोरङको बेलबारी नगरपालिका ४ स्थित बेतना सिमसारमा रहेका प्राकृतिक पोखरीमा पानीको सतह घट्न थालेको छ। पानीको सतह उल्लेख्य रूपमा घटेपछि सिँचाइका लागि सोही पोखरीमा निर्भर रहेका स्थानीय किसानको खेतमा पानीको आपूर्ति ठप्प भएको छ।
पानीको अभावमा सिँचाइ गर्न नसक्दा बाली खेतमै सुक्न थालेको स्थानीय किसान प्रेमबहादुर चोम्वाङ बताउँछन्। छिमेकीको डेढ बिघा जग्गामा अधियामा लगाएको मकै बाली पानीको अभावमा सुक्न थालेको उनको दुखेसो छ। धान, मकै र तोरी गरी वार्षिक तीन बाली उत्पादन गर्दै आएका चोम्वाङलाई पानीकै अभावका कारण साहुलाई बुझाउनुपर्ने बालीको जोहो गर्न हम्मेहम्मे पर्न थालेको छ।
सिँचाइका लागि बेतना सिमसारको पानी प्रयोग गर्ने प्रेमबहादुरजस्ता थुप्रै किसानहरू सो पोखरी सुकेपछि अहिले चिन्ताको गहिरो तलाउमा डुबेका छन्। सिँचाइका लागि मोटरबाट पानी तानेर प्रयोग गर्ने विकल्प पनि नेपाल विद्युत् प्राधिकरणले दिने अत्यन्तै न्यून भोल्टेजको विद्युत् आपूर्तिले प्रयोग गर्न असम्भव बनाइदिएको छ। भोल्टेज अत्यन्तै कम भएकाले पानी खेतसम्म पुर्याउनै नसकिने अवस्था रहेको किसान बताउँछन्।
यता, बेतना सिमसार सामुदायिक वन उपभोक्ता समिति भने चुरे, वन र चिसाङ खोलाकै कारणले यस सिमसारमा पोखरी सुरक्षित रहेकोमा वन विनाश र खनिज पदार्थको अत्याधिक दोहनले तीन वर्षयता प्राकृतिक पोखरी सुक्ने अवस्था निम्तिएको बताउँछन्।
समितिका अध्यक्ष डम्बर बस्नेतका अनुसार चुरे संरक्षण र रिजर्भ पोखरी निर्माण गरी पानीको सतह घट्नबाट बचाउन सकिन्छ। तत्कालका लागि सुक्दै गएको पोखरीबाट सिँचाइका लागि बाहिरिने पानीको परिमाण घटाएर पानीको सतह बढाउने आफूहरूको योजना रहेको उनको भनाइ छ।
पानी सुक्ने समस्याको दीर्घकालीन समाधानका लागि भने सङ्घीय सरकारको सिँचाइ व्यवस्थापन परियोजनाबाट २७ करोडको लागतमा तीन ओटा रिजर्भ पोखरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको बताउँदै उनले वन समितिको साधारणसभापछि सो योजनामाथि कारबाही अगाडि बढाइने उल्लेख गरे।
मोरङको विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका प्राणीशास्त्री उपप्राध्यापक रामचन्द्र अधिकारीले पानीको स्रोत सुक्दै जानुमा विभिन्न कारक तत्वले भूमिका खेल्ने बताउँछन्। उनका अनुसार लामो समयसम्म वर्षा नहुनुका साथै चर्को गर्मी तथा तातो हावाले पानीको स्रोतलाई सुकाउने काम गरेको हुनसक्छ। यसैगरी, वन विनाश तथा खनिज पदार्थको दोहन हुँदा पनि पानीको स्रोत घट्ने समस्या हुन्छ। यसैगरी, बेलबारी क्षेत्रको भौगर्भिक बनावट गेग्रानयुक्त रहेकाले स्वाभाविक रूपमै पानीको स्रोत घट्ने उनी बताउँछन्। यसैगरी, पोखरीका आसपासमा सरसफाइ नगर्दा झारपातले बढी पानी सोस्ने हुँदा त्यसबाट पनि पानीको सतहमा गिरावट आउने उनको भनाइ छ।
पर्यावरण र कृषिजस्ता जीवनका अभिन्न आयामसँग जोडिने जलस्रोतको संरक्षणका लागि प्रभावकारी नीति अख्तियार गरिनु आवश्यक छ।