बेलबारी : मोरङको बेलबारी नगरपालिका ८, राधानगरस्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तामध्ये ५१ परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।स्वास्थ्य बीमासँग नागरिकको आबद्धता वृद्धि गर्ने उद्देश्यले तीन वर्षदेखि विपन्न नागरिकको बीमा वनकै बजेटबाट गरिदिँदै आएको वन समितिका अध्यक्ष लक्ष्मण तामाङले जानकारी दिए। उनका अनुसार वनले एक पटक बीमा सुविधा पाएको परिवारलाई दोस्रो पटक नदोहोर्याउने गरी बीमा गर्न उत्प्रेरित गर्ने ढङ्गले निःशुल्क बीमाको सुविधा दिँदै आएको छ ।
बीमा कार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले सरकारले दिनुपर्ने बीमाको सुविधा वन उपभोक्ता समूहले दिएर नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी अभूतपूर्व रूपमा पूरा गरेको बताए । स्थानीय सरकारले पनि बीमा अभियान चलाएको बताउँदै उनले स्वास्थ्य उपचारमा लाग्ने चर्को खर्चबाट बच्न समयमै स्वास्थ्य बीमामा आबद्ध हुन स्थानीयलाई अपिल गरे । क्यान्सर, मृगौला रोगजस्ता गम्भीर प्रकृतिका रोगबाट ग्रस्त बिरामीलाई राज्यले आर्थिक सहयोग गरिरहेको भएपनि त्यस्ता बिरामीलाई बचाउन कठिन रहेको उल्लेख गर्दै नगरप्रमुख राईले रोगको समयमै पहिचान गर्नका लागि नियमित स्वास्थ्य जाँच गराउनुपर्ने बताए ।
वनले उपलब्ध गराएको निःशुल्क बीमा सुविधा प्राप्त गरेका स्थानीय सन्दीप कोइरालाले वन उपभोक्ता समूहको कार्य सराहनीय रहेको बताउँदै बीमामा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे । बढीभन्दा बढी विपन्न नागरिकलाई बीमाको दायरामा समेट्नका लागि वन समितिले बीमाको कोटा बढाउनुपर्ने उनले उल्लेख गरे ।