झापामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा एकजना वृद्धाको मृत्यु भएको छ।

बिहीबार भद्रपुर नगरपालिका-१ निवासी ६५ वर्षीया वृद्धा महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्य जटिलता देखिएको र स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

अहिले मृतकको शव पोस्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको जनाएको छ।

उक्त घटना बाहिरिएलगत्तै  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीको सहितको टिम अनुसन्धान गर्न झापा पुगेको छ। स्वास्थ्य मन्त्रालयले गत आइतबारदेखि हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापा सहितका सात जिल्लामा चलिरहेको छ।