बेलबारी  ।  मोरङको सुन्दरहरैँचा नगरपालिका ३ स्थित गछियामा सञ्चालित आश्रय प्रतिष्ठान नेपालको आयोजना तथा जिल्लाकै बेलबारी नगरपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा लागूऔषध दुव्र्यसनविरुद्ध दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।IMG_3554

आश्रय प्रतिष्ठान नेपालले लागूऔषध तथा मादक पदार्थको कुलतमा फसेका व्यक्तिहरूलाई समाजमा पुनःस्थापित गर्नका लागि आवासीय सुविधासहित परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । दुव्र्यसनमा परेका व्यक्तिको मानसिक विकृतिलाई शुद्धीकरण गरी उनीहरूको जीवनयापनमा सहजता ल्याउन आफूहरू कार्यरत रहेको केन्द्रले जनाएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका कार्यक्रम निर्देशक सेवक खत्रीले बेलबारीको लागूऔषध विरुद्धको अभियान प्रसंसनीय रहेकोे बताए । समापन समारोहका सभापतिसमेत रहेका उनले अभियान चलाउनका लागि सहयोग उपलब्ध गराएकोमा बेलबारी नगरपालिकालाई धन्यवादसमेत दिए ।IMG_3526

यसैगरी, कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले लागूऔषध दुव्र्यसनले देशका युवा पुस्ताको भविष्य सङ्कटमा पारिरहेको बताइन् । लागूऔषधको प्रयोगलाई निरुत्साहित गर्न स्थानीयस्तरमा सञ्चालन गरिने सचेतनामूलक कार्यक्रमले सहयोग पुग्ने बताउँदै उनले लागूऔषधको प्रयोगबाट बच्न सर्वसाधारणलाई अपिल गरिन् । बेरोजगारीबाट पीडित युवा लागूऔषधको लतमा फस्ने गरेको उनको भनाइ थियो । आर्थिक अवस्था कमजोर रहेका लागूऔषध प्रयोगकर्ताको सामाजिक पुनःस्थापनामा सहयोग गर्न बेलबारी नगरपालिकाले बजेट विनियोजन गरी त्यस्ता व्यक्तिलाई सुधारगृहमा राख्दा लाग्ने शुल्क भुक्तान गरिदिने गरेको उपप्रमुख कोइरालाले बताइन् ।IMG_3552

यसैगरी, बेलबारी नगरपालिका २ नम्बर वडा सदस्य दीपेन्द्र लिम्बू (दीपक) ले लागूऔषध दुव्र्यसन बढिरहेको परिस्थितिका बीच गठन भएको स्थानीय सरकारले यसको न्यूनीकरणका लागि विभिन्न कार्यक्रम समुदायस्तरमा सञ्चालन गरेको बताए । लागूऔषधको लतमा युवा उमेरका पुरुषका साथै महिलासमेत फस्दै गएको देखिएको हुँदा स्थानीय तहले न्यूनीकरण अभियान चलाएको उनको भनाइ थियो ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायबनिरीक्षक (सइ) यादवराज निरौलाले लागूऔषध दुव्र्यसनलाई पहिलो चरणमै उपचार नगरे यसले मानिसलाई मृत्युको मुखमा पुर्याउने बताए । लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले पनि अभियान चलाइरहेको बताउँदै उनले यससँग सम्बन्धित सूचना प्रहरीसमक्ष पुर्याइदिन अपिलसमेत गरे ।

IMG_3525दुई दिनसम्म चलेको सचेतनामूलक कार्यक्रमका क्रममा मनोविद् टिकाराम सिग्देलले पीडित व्यक्तिलाई मनोवैज्ञानिक परामर्शसमेत दिएका थिए । कार्यक्रम बेलबारी २ स्थित रमिते सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा शारीरिक सुगठनका राष्ट्रिय खेलाडी तथा सामाजिक अभियन्ता मनोज सुवेदी, बेलबारी २ का वडा सदस्य मञ्जु रिजाल, रमिते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र ओझा लगायतको उपस्थिति रहेको थियो ।