पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ। हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ। कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति आकर्षित भएका केन्द्रका सूचना अधिकारी कुमार पुनले बताउनुभयो। 

कृषि ज्ञान केन्द्रका अनुसार विसं २०७६ मा पाँच सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा हालसम्म आउँदा उक्त क्षेक्रफल बढेर छ सय १८ हेक्टर पुगेको छ। चार वर्षको अवधिमा ३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती बिस्तार भएको छ।

बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहजरुपमा पाउने भएकाले खेती बिस्तार हुँदै गएको पुनको भनाइ छ। जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने उहाँले जानकारी दिनुभयो। 

भौगोलिक बनावट र हावापानीअनुसार १० वटै पालिकामा धेरै वा थोरै सुन्तला उत्पादन हुने गरेको सूचना अधिकारी पुनले बताउनुभयो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिकटन सुन्तला उत्पादन कम भएको उहाँले जानकारी दिनुभयो।

सूचना अधिकारी पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीन हजार नौ ८५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन हजार नौ ४० मेट्रिकटन मात्रै उत्पादन भएको छ। गत वर्ष रु २० करोड बढीको सुन्तला बिक्री भएकामा यस वर्ष रु १८ करोडको मात्रै उत्पादन भएको छ। 

बागलुङमा सुन्तला व्यवस्थापनमा किसानले ध्यान नदिँदा उत्पादनमा ह्रास आएको पुनले बताउनुभयो। कृषि ज्ञान केन्द्रले सुन्तलाखेती गर्ने किसानलाई आवश्यक अनुदानसँगै बगैँचा व्यवस्थापन र प्राविधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ। मल, जल र बगैँचा व्यवस्थापनम कृषकले ध्यान दिए बागलुङमा धेरै मात्रामा सुन्तला उत्पादन गर्न सकिने सूचना अधिकारी पुनले बताउनुभयो।

“बागलुङमा सुन्तला उत्पादन राम्रो हुन्। यहाँका धेरै किसानले मेहनत पनि गर्नुभएको छ, तर यस वर्ष बगैँचा व्यवस्थापन सही तरिकाले नहुँदा उत्पादन घटेको छ। खेती बिस्तार भने तीव्ररुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “केन्द्रबाट कृषकलाई प्राविधिक सहयोगसहित अनुदान र तालिम प्रदान गर्दै आएका छौ। पहिले खाद्यबाली खेती हुने बारीमा अहिले सुन्तला लगाउन थालेका छन्।”

बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले यस वर्ष रु छ लाखको सुन्तला बिक्री गरेको बताउनुभयो। बारीमा दुई सय बोट सुन्तला रहेको भन्दै आधाभन्दा बढीले उत्पादन दिन थालेको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष दुई प्रतिशतले मात्र उत्पादन बढेको उहाँको भनाइ छ।

सिगानामा यो वर्ष करिब रु साढे दुई करोड भित्रिएको भन्दै खड्काले गाउँमा मात्रै ४० हजार सुन्तलाका बोट रहेका बताउनुभयो। “अन्य खेतीलाई जस्तो धेरै झन्झट गर्न नपर्ने, बेलाबेला गोडमेल र सिँचाइ गरे हुन्छ। उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ, सुन्तलाखेती गरेपछि पछुताउनु भने पर्दैन”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ विभिन्न रोग र सङ्क्रमणले दुःख दिने भएकाले कृषि केन्द्रसँग समन्वय गरी काम गर्नुपर्छ। पहिले गाउँका थोरै किसानले सुन्तलाखेती गर्नेमा अहिले प्रत्येक परिवार यसमा आबद्ध हुँदै गएका छन्।”